शरीरमा मुसा किन आउँछ ?
मानिसको छालामा विभिन्न खालका समस्याहरु आउने हुन्छ । त्यसमध्य पनि मुसा आउने समस्याका धेरै मानिस चिन्तित हुनसक्छ । तपाईं मध्ये धेरैको हात गोडा तथा शरीरका विभिन्न भागमा मुसा आएको हुनसक्छ । तर शरीरमा मुसा के कारणले आउँछ भन्ने बिषयमा भने आम मानिसलाई जानकारी नहुन सक्छ । मुसा एक प्रकारको भाइरल संक्रमण हो । यो हरेक उमेर समुहका मानिसलाई हुन सक्छ ।
यो खटिरा शरीरमा आउँदा दुख्ने पोल्ने नभएको कारणले पनि सामान्य रुपमा लिइन्छ । तर, मुसा आउँदा शरीरका भित्री अंगहरुमा असर गर्दैन । यो भाइरसबाट लाग्ने भएकाले शरीरको एउटा अंगबाट अर्को भागमा सजिलै फैलने भएकाले शरीर कुरुप देखिने जटिल समस्या बन्छ । मुसालाई अंग्रेजीमा Wart पनि भनिन्छ । यो ‘ह्युमन पेपिलोमा’ भन्ने भाइरसका कारण लाग्छ । मुसा एक सय भन्दा बढी प्रकारको हुन्छ । यो शरीरको शिरदेखि पैतालासम्म आउन सक्छ ।
यसका प्रकारलाई विभिन्न नम्बरले विभाजन गरीन्छ । हात खुटमा आउने मुसा १/२ नम्बरको हुन्छ भने शरीरको अरु भागमा आउने मुसालाई ६, ११, १६ र १८ नम्बरले चिनिन्छ । १६ र १८ नम्बरको मुसा भने रगत तथा यौन सम्पर्कका कारण एक व्यक्तिबाट अर्कोमा सर्ने हुन्छ । मुसा भाइरल संक्रमण भएका कारण एक अंगबाट अर्को अंग र एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ ।
कतिपय अवस्थामा शरीरमा देखापर्ने मुसा आफैं आउने र निको हुनेसमेत हुन्छ । यस्तो हुनुको कारण भने मानिसको रोग प्रतिरोधात्मक क्षमतामा भर पर्छ । रोग प्रतिरोधात्मक क्षमता बलियो हुने मानिसमा मुसाको संक्रमण देखापरे पनि बिस्तारै हराउँदै जान्छ । प्रतिरोधात्मक क्षमता कमजोर हुने मानिसमा भने यसलै धेरै नै सताउने हुन्छ ।


0 comments
Write Down Your Responses