नेपालीका लागि कुन देश बढी असुरक्षित ? प्रतिवन्ध लगाइएका देशमा मानव तस्करी रोकिएन:


७ असार, काठमाडौं । अफगानिस्तानमा सोमबार भएको तालीवानी आक्रमणमा १२ जना नेपालीसहित १४ जनाको मृत्यु भयो । वैदेशिक रोजगारीका लागि अफगानिस्तान गएका नेपालीहरु एकैपटक यति ठूलो संख्यामा मारिएको इराकपछिको यो दोस्रो घटना हो । मारिने नेपालीहरु सबै सेक्युरिटी गार्डका रुपमा कार्यरत थिए । ११ वर्षअघि पनि इराकमा पनि यसैगरी आतंकवादीको हमलामा १२ जना नेपालीको समुहिकरुपमा निर्मम हत्या भएको थियो । देशमा उचित रोजगार नपाएपछि विदेश जानु आमयुवाको बाध्यता बनेको छ । 


अहिले नेपालीलाई वैदेशिक रोजगारीमा जानका लागि सरकारले १०६ देशलाई खुला गरेको छ । तर, १ सय ६७ वटा मुलुकमा नेपालीहरु कामका लागि पुगिरहेका छन् । विदेश गएर आर्थिक उपार्जन गर्ने प्रलोभनमा धेरै नेपालीहरु प्रतिवन्धित तथा असुरक्षित मुलुकुहरुमा पनि जाँदैछन् । राम्रो कमाउने प्रलोभनमा पारेर युद्ध तथा सरुवा रोगले ग्रस्त बनेका मुलुकमा समेत नेपालीलाई पुर्‍याउने क्रम बढेको छ । अफगानिस्तानको घटनापछि नेपालीहरुका लागि कुन-कुन देश बढी असुरक्षित छन् भन्ने चासो बढेको छ । 

 सरकारले अहिले पाँचवटा मुलुकलाई असुरक्षित ठहर गर्दै नेपाली कामदार पठाउन पूर्णरुपमा रोकेको श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले अनलाइनखबरलाई जानकारी दिए । अफगानिस्तान भने आशिंक रुपमा खुल्ला रहेको सरकारी अधिकारीहरुको दाबी छ । तर, यसलाई सरकारको अस्पष्टता एवं दोहोरो नीतिका रुपमा व्यख्या गर्न थालिएको छ ।

यी हुन् नेपालीहरुका लागि असुरक्षित गन्तव्य:
सरकारी अधिकारीहरुका अनुसार नेपालीका लागि असुरक्षित मानिएका देशहरुमा इराक, सिरिया, अफगानिस्तान, गिनी र लिबिया लगायत छन् । यद्यपि यी देशहरुमा नेपालीहरु जाने क्रम रोकिएको छैन ।  

इराक:  
मध्यपूर्वी देश इराकमा नेपालीलाई जान रोक लगाएको ११ वर्ष भइसक्यो । सुन्नी इस्लामिक ग्रुप अन्सर अल सुन्नले ०६१ सालमा १२ नेपालीलाई नियन्त्रणमा लिएर विभत्स हत्या गरेको थियो । हत्याको भिडियो नै सार्वजनिक भएपछि नेपालमा घटनाविरुद्ध नागरिकहरु सडकमा आउँदा हिंसासमेत भड्किएको थियो । त्यसपछि नेपालीलाई इराकमा कामदारका रुपमा जान प्रतिबन्ध लगाइयो । आजसम्म यो प्रतिवन्ध हटेको छैन । तर, नेपालीहरु त्यहाँ जाने क्रम अझैसम्म रोकिएको छैन ।इराकका अपदस्थ शासक सद्दाम हुसेनको सत्ताविरुद्ध अमेरिकी आक्रमण र त्यसकै सेरोफेरोमा भडि्कएको गृहयुद्धका कारण नेपालीहरुलाई त्यहाँ जान प्रतिवन्ध लगाइएको हो । 

अहिलेसम्म पनि त्यहाँ इस्लामिक अतिवादी संगठन अलकायदा, इस्लामिक स्टेट, नुर्सा प|mन्ट लगायतका संगठनहरु सशस्त्र युद्धमै छन् । त्यसैकारण इराकमा त्यहाँ दैनिकजसो हिंसात्मक घटना भइरहन्छन् । यही अवस्थालाई ध्यानमा राखेर इराकमा नेपालीलाई जान स्वीकृति दिने गरिएको छैन । तर, पनि त्यहाँ अवैधानक रुपमा भारतीय मार्ग भएर जाने नेपालीको संख्या ठूलो छ । उनीहरु पनि विभिन्न अतिवादी संगठनको आक्रमणमा पर्ने सम्भावना अत्यधीक छ । अवैधानिकरुपमा इराक पुग्नेलाई रोक्न सरकारले कुनै कदम चाल्न सकेको छैन । राम्रो कमाइ हुने भन्दै गैरकानुनी रुपमा म्यानपावर र एजेन्टलाई ५ लाख रुपैयाँसम्म बुझाएर इराक पुग्ने नेपालीहरु पनि अफगानिस्तानमा भन्दा बढी असुरक्षित छन् । 

 सिरिया:
सिरिया अहिले सर्वाधिक चर्चामा रहेको अतिवादी संगठन इस्लामिक स्टेट -आइएस)को आधारभूमि हो । सिरियाको ठूलो भूभाग अहिले पनि आइएसकै नियन्त्रणमा छ । पछिल्लो दिनमा कमजोर बन्दै गए पनि सिरियामा इस्लामिक अतिवादी क्रियाकलापमा उसको संलग्नता घटेको छैन ।युरोपका विभिन्न देशमा हिंसात्मक आक्रमण गरेर आफ्नो आतंकको साम्राज्यलाई विस्तार गर्दै गरेको आइएसको मुख्य अखडाका रुपमा रहेको सिरियामा नेपालीलाई काम गर्न जान सरकारले निषेध गरेकोे छ । तर, अधिकारकर्मीका अनुसार त्यहाँ जाने नेपाली कामदारको संख्या सानो छैन । 

विशेष गरी घरेलु कामदारका रुपमा जाने नेपाली महिलाहरुसमेत धेरै छन् । दलालहरुले रोजगारीका नाममा सिरियासम्म नेपाली महिलाको तस्करी गरिरहेका छन् । सिरियामा पुगेका थुप्रै नेपालीहरु त्यहाँ हिंसा भडि्कएपछि नेपाल फर्किएका छन् । कतिपय अझै अलपत्र छन् । तर, मानव तस्करहरुले विभिन्न प्रलोभननमा नेपालीलाई सिरिया पुर्‍याउन छाडेका छैनन्, जुन ठाउँमा दैनिक ठूला-ठूला आक्रमण हुन्छन् । अमेरिका, रसियासहित खाडी राष्ट्रले पनि आइएसविरुद्ध हवाइ आक्रमण गरिरहँदा आम नागरिकसँगै विदेशी कामदारहरु पनि युद्धको चेपुवामा परेका छन् ।

 लिबिया:
लिबिया पनि इस्लामिक स्टेटबाट धेरै खतरा भएको अर्को देश हो । यो पनि आन्तरिक गृहयुद्धमा फसेको छ । लिबियामा पनि दिनहुँजसो सानाठूला हिंसात्मक घटनाहरु भइरन्छन् । त्यसैले सरकारले त्यहाँ कामका लागि जान रोक लगाएको छ ।इस्लामिक स्टेटको आतंकलाई नियन्त्रण गर्न लिबिया सरकार असफल भइरहेका बेला रोजगारीका नाममा नेपालीहरुलाई त्यहाँ पुर्‍याइँदैछ । लिबियासम्म नेपाली महिलालाई पुर्‍याउने सञ्जालले अवैध बाटोबाट काम गरिरहेको छ । धेरै कमाइ हुने प्रलोभनमा लिबियासम्म पुगेका धेरै नेपालीहरु उद्धारको प्रतिक्षामा छन् । भारत र अन्य देशको बाटो हुँदै लिबिया छिर्ने नेपालीहरुको संख्या उल्लेख्य रहेको अधिकारीहरु बताउँछन् । लिबियमा रहने नेपालीलाई पनि हिंसात्मक घटना र आक्रमणको जोखिम उच्च छ ।

 गिनी:
 नेपाली कामदारलाई घाना जान रोकिएको छ । चुनावी हिंसामा फसेका बेला घानामा जान रोकिएको थियो । लगत्तै रुबेला भाइरसको प्रकोप उच्च रुपमा फैलिएपछि गिनीमा नेपालीलाई नपठाउने निर्णय भएको थियो । पछिल्लो समयमा घानाको अवस्था कस्तो छ ? यसबारे सरकारले कुनै अध्ययन गरेको छैन । अहिले गिनीमा इबोला भाइरस निवारण भइसकेको छ । तर, लामो समयदेखि रोकिएको गिनीमा कामदार पठाउन फुकाउने निर्णय भएको छैन । यी बाहेक मुस्लिम अतिवादीहरुको पकड रहको नाइजेरियासहित केही अफ्रिकी मुलुकहरुमा पनि नेपालीहरु असुरक्षित रहेको मानिन्छ । 

अफगानिस्तान:
सरकारले विभिन्न शर्तहरु राखेर सेक्युरिटी गार्डकारुपमा अफगानिस्तान जान दिए पनि अफगानिस्तान नेपालीका लागि कुनै रुपमा पनि सुरक्षित गन्तव्य होइन ।अफगानिस्तामा सक्रिय तालिवानसहित विभिन्न संगठनहरुले सार्वजनिक स्थानमा आत्मघाती बम बिष्फोट र विभिन्न आक्रमणका घटना गराइरहेका छन् । जसले, त्यहाँ काम गर्न पुगेका नेपालीहरु जोखिममा पर्ने गरेका छन् । असुरक्षा हुने भनेरै अफगानस्तानमा नेपालीलाई सेक्युरेटी गार्डका रुपमा मात्रै जान खुला गरिएको हो । घरेलु, औद्योगिक, कृषि सेवा लगायत अन्य कुनै पनि क्षेत्रमा अफगानिस्तानमा रहेर काम गर्न नेपालीलाई प्रतिवन्ध लगाइएको छ । अन्य क्षेत्रमा काम गर्नेहरुलाई भौतिक असुरक्षा धेरै हुने सरकारको ठहर छ । सोमबार भएको घटनाले भने अब सुरक्षा गार्डका रुपमा पनि नेपालीलाई अफगानिस्तान पठाउन रोक्नुपर्छ भन्ने सन्देश दिएको छ ।

0 comments

Write Down Your Responses