‘पोषिलो चुकुन्दर’ को सेवन गर्नाले के हुन्छ ? जानी राखौं !


३१ जेठ । चुकुन्दरमा फलाम, तामा, म्याग्निज, म्याग्नेसियम, पोटासियम खनिज तथा बी भिटामिनहरु मात्र होइन, यसलाई प्राकृतिक चिनीको राम्रो श्रोत पनि मानिएको छ । हामीले अन्य खाद्यवस्तुबाट खासै प्राप्त नगर्ने पोषक तत्व तथा स्वास्थ्य सुधार्ने तत्वहरु चुकुन्दरमा पाइन्छ । दैनिक चुकुन्दरको जुस पिउने मानिसमा रक्तचाप कम हुने पाइएको छ । सन् २००८ मा सम्पन्न गरिएको एउटा अनुसन्धानले चुकुन्दरको जुस पिउने मानिसको रक्तचाप तुलनात्मकरुपमा १० एमएम एचजी घटेको पाएको थियो । 

चिनी भएर पनि कम क्यालोरी भएको खाद्यवस्तु निकै कम छन् । यस्तो गुण भएको वस्तुमा चुकुन्दर पर्दछ । चुकुन्दर शक्तिवद्र्धक हुन्छ । यसैगरी डिप्रेसन र अन्य मानसिक समस्याको उपचारमा प्रयोग गरिने औषधिमा प्रयुक्त बिटाइनिन चुकुन्दरमा पनि पाइन्छ । यसको अर्थ चुकुन्दर खाने मानिसको मानसिक स्वास्थ्य राम्रो रहन सहयोग पुग्दछ । चुकुन्दरमा हुने ट्राटोफान तत्वले मानिसको मस्तिष्कलाई आनन्दित तुल्याउँछ । चुकुन्दरको बिटाइनिन तत्वले मस्तिष्कमा मात्र होइन कलेजोको स्वास्थ्यसमेत सुधार गर्छ । कलेजोको सफाइ गर्दै यस तत्वले त्यहाँ बोसो जम्न दिँदैन । माथि उल्लेख गरिसकियो चुकुन्दर खनिज र भिटामिनहरुको राम्रो स्रोत हो । 

साथै बिटालानिस पनि हुने भएकाले हाम्रो शरीरमा यस एन्टिअक्सिडेन्टले घातक फ्री रेडिकलहरुलाई निस्तेज पार्दछ । जसले गर्दा दीर्घ रोगले समात्ने सम्भावना कम हुन्छ । भिटामिन ए र बिटा क्यारोटिन समेत हुने र फ्रि रेडिकललाई समेत निस्तेज पार्ने चुकुन्दर खाने गरेमा आँखाको ज्योतिलाई फाइदा पुग्छ । चुकुन्दरमा उच्च मात्रामा फाइबर हुने भएकाले कब्जियतको समस्या कम गर्न यो सहयोगी हुनसक्छ । मुटु स्वस्थ राख्न पोटासियम तत्वको मात्रा शरीरमा वाञ्छित रहनुपर्छ । यस तत्वको कमी मस्तिष्कघातको कारण पनि हुनसक्छ । ठूलो मात्रामा पोटासियम पाइने भएकाले चुकुन्दर खाने गरे हामीलाई ती समस्याबाट मुक्त रहन सहयोग पुग्छ ।

 गोरखापत्र दैनिकबाट;

0 comments

Write Down Your Responses