के तपाईलाई थाहा छ ? आफैंले जाँच्न सकिन्छ ‘स्तन क्यान्सर’

काठमाण्डौं, ३१ जेठ । मानिसमा देखिने क्यान्सरमध्ये आफैं जाँच गरी पत्ता लगाउन सकिने क्यान्सर स्तन क्यान्सर हो । आफैंले घरमै बसी सरलताका साथ आफ्नो स्तन जाँच गरी समयमै यो रोगबाट बच्न सकिन्छ, जसलाई ब्रेस्ट सेल्फ इक्जायमिनेसन भनिन्छ । चिकित्सकका अनुसार आफ्नो स्तन ठीक छ या छैन भनी ऐना अगाडि उभिएर पनि जाँच गर्न सकिन्छ । ऐना अगाडि उभिएर आफ्नो दुवै स्तनलाई हेर्ने, दुवै स्तनको समानता, आकार बनोट, निप्पलको अवस्था, छालाको रङ, स्तनको कुनै भागमा गिर्खा भए\नभएको ध्यान दिनुपर्छ । त्यस्तैगरी आफैं जाँच गर्दा नुहाउने समय निकै राम्रो मानिन्छ ।

 नुहाँउदा पनि सरलताका साथ जाँच गर्न सकिन्छ । साबुन लगाएको हातले भिजेको स्तनको जाँच गर्न अझ सजिलो हुन्छ । देबे्र हातले दाहिने स्तन तथा दाहिने हातले देब्रे स्तनको क्रमबद्ध रुपमा जाँच गर्न सकिन्छ । यसरी जाँच गर्ने क्रममा कुनै भाग कडा लागेमा तुरुन्तै उपचार गराउनुपर्ने चिकित्सकको भनाई छ । तर यसरी स्तनको जाँच आफैं गर्दा महिनाको नियमित रुपमा भइरहेका महिलाले महिनावारी रोकिएको ४\५ दिनपछि यो जाँच गर्नुपर्दछ । किनकि महिनावारी भएका बेलामा स्तन अलिकति सुन्निएको, कडा तथा हल्का दुख्ने हुन्छ ।

 यसो भएमा तुरुन्त जाँच गराउनुपर्ने स्त्रीरोग विशेषज्ञ डा. ज्योति अग्रवालको सुझाव छ । भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. रोशन प्रजापति स्तन क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये पहिलो नम्बरमा आउने बताउँछन् । विभिन्न तथ्यांकअनुसार विश्वमा औसत ५० वर्ष उमेर नाघेका महिलामा स्तन क्यान्सरको समस्या बढी देखापर्ने गर्दछ । लामो समयसम्म परिवार नियोजनको चक्की खाने, हर्मोनको प्रयोग गर्ने, अनावश्यक विकिरणको (एक्सरे) सम्पर्कमा आउने, बोसोयुक्त खानेकुरा ज्यादा खाने, धेरै मदिरा सेवन गर्ने र अति मोटा महिलामा पनि स्तन क्यान्सरको खतरा हुने सम्भावना रहन्छ ।

0 comments

Write Down Your Responses