यूनिटीभन्दा डरलाग्दो सञ्जाल, भारतमा कार्यालय, नेपालमा ठगी(नामसहित)


काठमाडौं, ६ जेठ । ठगीको सञ्जाल यूनिटी प्रकरण सेलाउन नपाउँदै नेपालमा यूनिटीलाई मात खुवाउने गरी काठमाडौंमा अर्को नेटवर्किङको धन्दा सुरू भएको छ । सामाखुसीमा कान्तिपुर ओभरसिज सञ्चालन गर्दै आएका प्रेमबहादुर तामाङले हजारौं नेपालीहरूको करोडौँ रकम नेटवर्किङमार्फत झ्वाम पारिदिएका हुन् । तामाङ कार्यकारी निर्देशक रहेको वीन वीन ट्रेड मार्ट प्रालि र उनको समूहविरुद्ध उजुरी पर्न थालिसकेको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । तामाङले सर्वसाधारण नेपालीहरूको १४ खर्ब रकम नेटवर्किङको व्यवासयमार्फत खाइदिएको पीडितहरूको आरोप छ ।

 तामाङको टोलीमा लामै सूची छ । यो टोलीले नयाँ–नयाँ व्यक्तिलाई नेटवर्किङमा लगाएर प्रतिव्यक्ति भारतीय रुपियाँ दुई लाख उठाउँदै आएको छ । बिगत दश वर्षदेखि तामाङसहितको समूहले भारतको बनारसस्थित चौदमारी चौकमा केन्द्रीय कार्यालय खोलेर पश्चिम नेपाल र काठमाडौं उपत्यकालाई नेटवर्किङको बेस बनाएको छ । तामाङको नेटवर्किङ व्यवसायाई पोखराकी गीता सापकोटा, काभ्रेका जितमान मगर, गोर्खाका पर्शुराम भट्ट, दार्चुलाका भुपेन्द्र सिंह धामी, दाङका नारायण भण्डारी, गोरखाका राज गुरुङ, कपिलवस्तुका योगराज उपाध्याय, काभ्रेका विनोद गौतम, दाङका मिलन चौधरी, उदयपुरकी पूजा माझी, उदयपुरका काशिराम माझी, सिन्धुपाल्चोकका सुदर्शन थापाले चलाइ रहेका छन् ।

 तामाङले नेटवर्किङ व्यवसायबाट मासिक ७० लाखसम्म आफ्नो कमिशन रकम बुझ्ने गरेको स्रोतले जनाएको छ । उच्च राजनीतिक पहुँच र प्रहरी प्रशासनमा राम्रो पकड बनाएका म्यानपावर व्यवसायी तामाङ र उनको टिमविरुद्ध उजुरी पर्न सुरू भइसकेको छ । नेटवर्किङ व्यवासयमा सीमित व्यक्तिलाई मात्रै फाइदा हुन्छ । अरुको पैसा डुब्ने निश्चित हुन्छ । यो समूहले सुरुमा प्रतिव्यक्ति भारतीय रुपियाँ दुई लाख लिने गर्छ । आकर्षक लोभ देखाएर लिइने यो रकमसँग प्रत्येक व्यक्तिले तीन जना सदस्य बनाउनु पर्ने हुन्छ । तीन जना सदस्य बनाएपछि दुई लाखबाट २५ हजार तुरुन्त फिर्ता पनि हुन्छ ।

 माम्र्युज, प्रि–माम्र्याजुज जस्ता पद रहेको वीन वीन ट्रेड मार्क प्रालिका नाममा हुँदै आएको नेटवर्किङका सदस्यलाई कार्ड समेत दिने गरिएको छ । रकम लेनदेनमा कुरा नमिलेपछि वीन वीन नेटवर्किङ विभाजन भएर दुई टुक्रा भएको छ । सोही समूहका विवेक तिमल्सिनाले ‘अपेरी’ नामक संस्था बनाएर नेपालमा नेटवर्किङको काम गर्दै आएका छन् । अपेरीको कार्यालय पनि भारतको उत्तराखण्डमा छ । तिमल्सिनाले पनि करोडौँ रुपियाँ उठाइ सकेका छन् । मिलन चौधरीले पनि उत्तर प्रदेशको गोरखपुरमा कार्यालय स्थापना गरेर नेपालमा नेटवर्किङ व्यवसाय चलाउँदै आएका छन् ।

 नेटवर्किङका नाममा बुटवलका रोहित श्रेष्ठले पनि करोडौं रकम खाइदिएका छन् । आफ्नो पैसा फिर्ता माग्दा श्रेष्ठले विभिन्न धम्की दिएर सदस्यहरूलाई त्रासमा राख्ने गरेका छन् । श्रेष्ठका विरुद्ध प्रहरी प्रशासनमा उजुरी पर्न सुरु भइसकेको छ । यतिसम्मकी नेटवर्किङ व्यवसायबाट राम्रो कमाइ हुने भएपछि दाङको तुलसीपुर स्थायी घर भएका नारायण भण्डारीले घुमाउरो तरिकाले स्वास्थ्य सेवा विभागमा नेटवर्किङसम्बन्ध संस्था दर्ताको तयारी गरेका छन् । यो संस्था दर्ताको अन्तिम तयारीमा छ । संस्था दर्ता भएमा भण्डारीले स्वास्थ्यका नाममा नेटवर्किङ चलाउने छन् । को–को छन् सदस्य? वीन वीन ट्रेड मार्ट प्रालि नामक नेटवर्किङ व्यवसायमा अधिकांश माओवादी नेता तथा कार्यकर्ताको संलग्नता देखिएको छ ।

 शिविरबाट बाहिरिने क्रममा सरकारले उपलब्ध गराएको रकमलाई लडाकुहरूले नेटवर्किङमा लगाएको स्रोतको भनाइ छ । एकजना लडाकुले भने–‘माओवादीका केही नाम चलेका नेताहरूपनि यो नेटवर्किङमा आबद्ध रहेछन् । हामी पनि लोभमा परेर पैसा लगाइयो । अहिले न पैसा पाइन्छ न त्यसको मुनाफा नै पाइन्छ ? उजुरी पनि कहाँ गएर हाल्ने दिक्क भएका छौँ ।’ वीन वीन नेटवर्किङ व्यवसाय नेपालमा प्रतिबन्ध रहेपनि प्रेमबहादुर तामाङसहितको समूहले अहिले पनि करोडौँ रकम ठगी गर्दै आएको छ । तामाङको ठगीमा पूर्व सुरक्षाकर्मीदेखि सर्वसाधारणसम्म छन् ।

 प्रहरीमा उजुरी पर्न थालेपछि वीन वीन नेटवर्किङका सञ्चालक समितिका सदस्यहरू लुकीलुकी हिँड्ने गरेका छन् । सदस्यहरूले पैसा फिर्ता माग्दासमेत नदिएको एक जना पीडितले गुनासो गरे । पैसा माग्दा वीन वीन ट्रेड मार्ट प्रालिका सदस्यहरू ज्यान लिने सम्मको धम्की दिने गरेको आरोप छ । वीन वीनका नाममा सञ्चालित वेबसाइट पनि खुल्दैन । वेबसाइटका नाममा पनि वीन वीन नेटवर्किङले धोका दिइरहेको छ । प्रहरी र प्रशासन समक्ष उजुरी परेपछि अहिले वीन वीन नेटवर्किङ चलाउने कार्यकारी निर्देशक प्रेमबहादुर तामाङसहितका समूह लुकेर हिँड्ने गरेको छ ।

 प्रहरी प्रशासनले पनि उनीहरूलाई कारबाही गर्न खासै ध्यान नदिएको आरोप पीडितहरूको छ । यूनिटी प्रकरणमा हजारौं सर्वसाधारणका करोडौँ रकम डुबीसकेको छ । दोषीहरू जेलमा छन् भने कोही अहिले पनि फरार सूचीमा छन् । अब पालो वीन वीनको आएको छ । उनीहरूलाई हदैसम्मको कारबाही माग उठेको छ । नेपालीलाई लक्ष्य गरेर भारतमा सञ्चालित सबै नेटवर्क कारोबारको प्रकृति करिब–करिब यस्तै रहेको रामेछापका भारतीय नेटवर्क कम्पनी डीबीएबाट पीडित भएका एक जनाले बताए । उनका अनुसार बनारसमा चलेको विन–विनमा २०, ३५ र ४१ प्रतिशत गरी तीन श्रेणीको स्किम चलिरहेको छ।

 त्यसमा २० प्रतिशतका लागि अनिवार्य आठ हजार भारु लगानी गर्नुपर्छ । त्यस्तै, २५ प्रतिशतका लागि ३५ हजार र ४१ प्रतिशतका लागि एक लाख १० हजार भारु हाल्नुपर्छ । असंख्य व्यक्तिमा जालो फैलिँदै जाने ‘नेटवर्क मार्केटिङ’बाट करोडौं ठगी भएपछि सरकारले गोल्डक्वेस्ट, युनिटी लगायत कम्पनीमा रोक लगाउनुका साथै यो खालको कारोबारमै प्रतिबन्ध लगाएको थियो । यी कम्पनीका सञ्चालकले भने आफ्नो कारोबारलाई ‘मल्टिलेभल मार्केटिङ’ अर्थात् ‘एमएलएम’ भन्ने गरेका छन् । विन–विनले वेस्टर्न ब्रान्डको फेसन कम्पनीको काममा लगाउने भन्दै सदस्यहरुलाई फसाउँदै आएको छ ।

 फेसनका कपडा बेच्ने हो भन्दै त्यसमा छिराउने गरेको र ‘त्यहाँ पुगेपछि मल्टिलेभल मार्केटिङ हो भनेर भन्ने गरेको पीडितको भनाइ छ । त्यस कार्यालयमा पूर्वमाओवादी लडाकु, प्रहरी, सेना तथा वैदेशिक रोजगारीमा गएर फर्केकाहरु, शिक्षक, पत्रकार, राजनीतिमा लागेका, कलाकर्मीहरु पनि संलग्न छन् । कलाकारमा सुमन सिंह, मुनाल घिमिरे, पार्वती राईले समेत विन–विनको तालिम लिएका छन् । विन–विनको निर्देशकमा हुमबहादुर गुरुङ र यमराज तामाङ (लामा) रहेको देख्न पाइन्छ । अहिले सप्तरीमा मात्र एक सय ४४ जना ‘मार्खेज’ छन् । 

बनारसमा सप्तरीका दिनेश चौधरी, धनकुटाका विनोद घिमिरे, हेटौंडाका दर्पण, राजविराजका सत्रुधनकुमार यादव विन–विनमा संलग्न छन् । उनीहरुले गत एक महिनाअघि मात्र मोरङ, सुनसरी, झापा, इलाम, सप्तरीमा सेमिनार(गोष्ठी) नै गरेका थिए । स्रोतले दिएको जानकारीअनुसार विन–विनमा सदस्य हुनका लागि २० प्रतिशतको सबैभन्दा सानो, ३५ प्रतिशतको मझौला र ४१ प्रतिशतको ठूलो गरी तीन श्रेणीको ‘स्किम’ चलिरहेको छ । विन–विनको सदस्य बन्नेबित्तिकै कम्तीमा २० प्रतिशतको स्किम अनिवार्य रुपमा किन्नुपर्छ ।

 यसका लागि आठ हजार भारतीय रुपैयाँ बुझाउनुपर्छ । तालिम खर्च थप एक हजार भारु तिर्नुपर्छ । अर्थात् सुरुमा कम्पनी सदस्यताको लागि भारु नौ हजारको दरले तिर्नुपर्छ । प्रत्येक सदस्यलाई स्किममा लगानी भएको रकम बराबर कपडा दिने गर्छ । जसको मूल्य ऊ आफैंले तोक्छ । विन–विनबाट ठगिएका एक पीडितले भने, ‘पहिले आठ हजार भारु तिरेपछि सदस्य भएकालाई उनीहरुले एउटा पाइन्ट दिन्थे, जसको बजार मूल्य एक हजार पनि पर्दैनथ्यो । अहिले आठ हजार बराबरको भनेर सुट पाइन्ट दिन्छन् ।’

0 comments

Write Down Your Responses