एन्टिवायोटिकको जथाभावी प्रयोग मानव स्वास्थ्यका लागि गम्भीर खतरा


    पशुपंक्षीको वृद्धि र विकासका लागि एन्टिबायोटिकको प्रयोग पछिल्लो समय बढिरहेको छ । यस कारण त्यस्ता पशुपंक्षीको मासुको सेवनले पनि अप्रत्यक्ष रुपमा दिनहुँ एन्टिबायोटिकले मानिसको शरीर भित्र प्रवेश पाइरहेको छ । पशुपंक्षीमा समेत प्रयोग हुन थालेपछि एन्टिबायोटिक औषधिको दुरुपयोग बढ्दै गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।एन्टिबायोटिक औषधिका बारेमा बिरामी नै सचेत नहुँदा र चिकित्सकले पनि आवश्यक नै नभएको बिरामीलाई एन्टिबायोटिक लेख्दिने गर्दा दुरुपयोग बढ्दो छ ।

      जसले गर्दा एन्टिबायोटिकले काम गर्न छोडिरहेको भन्दै बैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन् । अस्पतालमा चिकित्सकहरुले लेख्ने प्रेस्किप्सनमा ५० प्रतिशत एन्टीबायोटिक्स लेख्ने गरेको खुल्न आएको छ । एन्टिबायोटिक औषधिको कोर्स पु¥याएर सेवन गर्नु अनिवार्य हुन्छ । बिरामीहरुले आफुलाई निको भएको महसुस गरेपछि बिचमै एन्टिबायोटिक खान छोड्ने बानीले पनि स्वास्थ्यमा गम्भीर असर गरिरहेको छ । एन्टिबायोटिक औषधिको डोज पूरा नगरे स्वास्थ्यमा पर्ने असरबारे चिकित्सकहरुले पनि राम्रोसँग बुझाउन नसक्दा लापरबाही बढ्दै गएको पाइएको छ ।

      दक्षिण एसियाली राष्ट्रमा एन्टिबायोटिक औषधिको जथाभावी प्रयोग भैरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनकी दक्षिण एशिया प्रमुख पूनम खत्रपाल सिंहका अनुसार स्वास्थ्य जाँच नगरीकन एन्टिबायोटिकको प्रयोग गर्ने प्रवृत्ति नरोकिए सन् २०५० सम्ममा यो औषधिको प्रयोगका कारण विश्वमा ज्यान गुमाउनेको संख्या एक करोड पुग्ने अनुमान गरिएको छ । स्वास्थ्य मन्त्रालयले पनि पशुपंक्षीको वृद्धि र बिकासमा अत्याधिक एन्टिबायोटिक प्रयोगले स्वास्थ्य समस्या बढेको र स्वास्थ्य क्षेत्रमा चुनौती थपिएको जनाएको छ । 

    एन्टिबायोटिकले निमोनिया, टिबी, गनोरिया र रक्त समस्या भएका विरामीलाई निको पार्न समस्या भएको चिकित्सकहरुले बताएका छन् । घातक रोगहरु निको पार्न एउटा अत्यन्तै प्रभावकारी औजारको रुपमा हेरिएको ‘एन्टिबायोटिक्स’ औषधिहरुको जथाभावी प्रयोगले तिनको प्रतिरोधी क्षमता पनि विकास हुँदै गएको प्रति वैज्ञानिकहरुको चिन्ता र चासोको बिषय बनेको छ ।

0 comments

Write Down Your Responses