एमाले युवा संघका नाममा युएईमा मानव तस्करी
३ वैशाख, युएई । सत्तारुढ नेकपा एमालेको भातृ संगठन प्रवासी युवा संघका नेताहरु नेपाली युवतीलाई युएई पठाउने अवैधानिक धन्दामा सक्रिय रहेको एक प्रतिवेदनबाट खुलासा भएको छ ।
त्यसरी दुबई पुर्याइएका युवतीले नेपाली दूतावासमा जागिर माग्दै बायोडाटा बुझाएपछि युवा संघका नाममा मानव तस्करीको धन्दा सार्वजनिक भएको हो ।
एनआरएन अन्तरराष्ट्रिय समन्वय परिषद अन्तरगत वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समितिले हालै तयार पारेको एक प्रतिवेदनले एमालेको भातृ संगठनका नेताहरु नेपाली युवतीलाई झुक्याएर दुबई पठाउने कार्यमा संलग्न रहेको देखाइएको छ । त्यसरी दुबई पुर्याइएका चेलीहरुबाट लिइएको पैसा फिर्ता गरेर पीडितलाई न्याय गरिनुपर्ने कल्याण समितिका संयोजक धरम केसीको प्रतिवेदनमा उल्लेख छ ।
कसरी मुछिए युवा संघका नेता ?
हालै युएईमा एमालेको भातृ संस्था प्रवासी नेपाली मञ्च मातहतको युवा संघको आयोजनामा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।
सो कार्यक्रममा एमाले कार्यकर्ताले कलाकार बनाएर केही युवतीहरु लगेका थिए, जसले कुनै पनि सांस्कृतिक कार्यक्रममा सहभागिता जनाएनन् र उनीहरु उतै बसेर जागिरको खोजीमा भौंतारिन थाले ।
दुबई पुर्याइएका १० युवतीमध्ये ४ जनामात्रै कलाकार रहेको र एकजना आयोजककै परिवारको सदस्य रहेको दूतावासले जनाएको छ । लाखौं रुपैयाँ असुलेर जागिर लगाइदिने बाहनामा ५ युवतीलाई युएई पुर्याएर अलपत्र छाडिएपछि उनीहरुले दूतावासमा निवेदन दिएको दूतावासले बताएको छ ।


0 comments
Write Down Your Responses