मन्त्रालयका कोठा थुनेर मन्त्रीदेखि उपसचिवसम्मले के–के गरे ?
काठमाडौं, २१ जेठ । प्रायः चहलपहल देखिने पर्यटन मन्त्रालय बिहीबार साढे १ बजे नै सुनसान भयो । पर्यटनमन्त्रीदेखि सचिव, सहसचिव र उपसचिवका कार्यकक्षमध्ये कतिपयका ढोकामा ताला थियो भने केहीमा चुकुल मात्र लागेको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
कतिपय कोठाका ढोका खुलै भए पनि कार्यकक्षमा कर्मचारी थिएनन् । केही अधिकृत र तल्लो तहका कर्मचारी भने कार्यालयमा थिए ।
करिब सवा दुई बजे प्राविधिकतर्फका एक उपसचिव र एक शाखा अधिकृत मन्त्रालयको गेटमा भेटिए । भेटिनासाथ उनीहरूमध्ये एकले ठट्यौली पारामा भने, ‘मन्त्रालयमा कोही छैन भन्ठान्नुभएको होला, अड्डा सम्हाल्न हामी बसेका छौँ ।’ उनीहरू खाजा खाएर फर्किएका थिए ।
पर्यटन मन्त्रालय र सार्क सचिवालयको संयुक्त आयोजनामा दुई दिनसम्म चल्ने सार्कस्तरीय ग्रामीण पर्यटन कार्यशालामा भाग लिन उच्चपदस्थ कर्मचारी ललितपुरको गोदावरीस्थित एक तारे होटेलतिर लागेपछि मन्त्रालय रित्तिएको हो ।
मन्त्रालयका मात्र होइन, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, नेपाल नागरिक उड्डयन प्राधिकरणलगायत निकायका उच्चपदस्थ अधिकारीसमेत आवासीय कार्यशालाका लागि गोदावरी पुगेका छन् ।
सार्क मुलुकबाट दुई–दुईजना प्रतिनिधि सहभागी आवासीय सेमिनारमा धेरै प्रतिनिधि पर्यटन मन्त्रालय र मातहत निकायका छन् ।
मन्त्रालयसहित पर्यटन विभाग, पर्यटन बोर्ड, नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारी सेमिनारमा सहभागी छन् ।
यसबाहेक होटेल संघ नेपाल (हान), ट्रकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान), होस्मेट एसोसिएसन अफ नेपाल, नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज्लगायत पर्यटनसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधि सहभागी छन् ।


0 comments
Write Down Your Responses